
CTVET बाट महत्वपूर्ण दस्तावेजहरू स्वीकृत
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को मिति २०८२ मंसिर १७ गतेको निर्णयानुसार देहाय बमोजिमका महत्वपूर्ण दस्तावेजहरू स्वीकृत भएका छन्।
(१) प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीम क्षेत्रको राष्ट्रिय पाठ्यक्रम प्रारूप:
परिषद्बाट प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीम क्षेत्रको राष्ट्रिय पाठ्यक्रम प्रारूप (National TVET Curriculum Framework) स्वीकृत भएको छ।
नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षाको क्षेत्रमा विभिन्न तहको पाठ्यक्रम निर्माण गर्दा अवलम्बन गर्नु पर्ने राष्ट्रिय मापदण्डहरू यो प्रारूपले निर्दिष्ट गरेको छ। अब उप्रान्त यो प्रारूपले तोकेको मापदण्ड अनुसार अन्य विभिन्न सरकारी निकाय तथा उद्योग/व्यवसायलगायतका संस्थाहरूले समेत प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीम सम्बन्धी पाठ्यक्रम विकास गर्न सक्नेछन्। तर त्यसरी विकास गरिएको पाठ्यक्रम लागू गर्नुपूर्व आधिकारिक निकायबाट स्वीकृत गराउनु पर्नेछ। प्रारूप स्वीकृत भई कार्यान्वयनमा आएसँगै पाठ्यक्रम विकास गर्दा अवलम्बन गर्नु पर्ने सिद्धान्त, प्रक्रिया र ढाँचामा एकरूपता आउने विश्वास गरिएको छ। साथै पाठ्यक्रमको कार्यान्वयन र मूल्याङ्कनका लागि समेत प्रारूपले स्पष्ट खाका प्रदान गरेको छ।
(२) एप्रेन्टिसिप तालीम सञ्चालन निर्देशिका, २०८२:
यो निर्देशिकाले डिप्लोमा तहको औद्योगिक प्रशिक्षार्थी तालीम (एप्रेन्टिसिप) सञ्चालनका लागि मार्गदर्शन प्रदान गरेको छ। यो निर्देशिकामा व्यवस्था भए अनुसार डिप्लोमा तहको औद्योगिक प्रशिक्षार्थी तालीमको अवधि ३ वर्ष (३६ महिना) हुने छ। निर्देशिकाले डिप्लोमा तहको औद्योगिक प्रशिक्षार्थी तालिम कार्यक्रमलाई मोड्युलर ढाँचामा सञ्चालन गर्ने व्यवस्था गरेको छ। यसका साथै औद्योगिक प्रशिक्षार्थी तालिम सञ्चालन गर्न इच्छुक उद्योगहरूलाई परिषद्ले तोकेका मापदण्ड पूरा गरेमा अनुमति प्रदान गर्न सकिने व्यवस्था निर्देशिकाले गरेको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले विगतका वर्षहरूदेखि नै प्रि-डिप्लोमा तहमा विभिन्न विषयमा २४ महिने औद्योगिक प्रशिक्षार्थी तालीम सञ्चालन गर्दै आइरहेको छ।
(३) Manual for TVET Institutional Accreditation, 2082:
प्राविधिक शिक्षालयको स्तर निर्धारण तथा प्रत्यायन सम्बन्धी विनियमावली, २०८१ लाई कार्यान्वयन गर्नका लागि परिषद्ले Manual for TVET Institutional Accreditation, 2082 स्वीकृत गरेको छ। स्वीकृत म्यानुअलमा स्तर निर्धारण तथा प्रत्यायनका मापदण्ड एवं सूचकहरूमा दिने अङ्कभारका आधारहरूलाई विस्तृतीकरण गरिएको छ। स्तर निर्धारण तथा प्रत्यायन प्रणालीले शिक्षण संस्थाको गुणस्तर सुधारका लागि महत्वपूर्ण आधार तय गर्नेछ। स्तर निर्धारण तथा प्रत्यायन गर्दा शिक्षालयहरूलाई ४ तहमा वर्गीकरण गर्ने व्यवस्था गरिएको छ:
(i) ‘क’ - सर्वोत्कृष्ट (९०% वा सो भन्दा बढी अङ्क प्राप्त गरेको)
(ii) ‘ख’ – उत्कृष्ट (८०% वा सो भन्दा बढी र ९०% भन्दा कम अङ्क प्राप्त गरेको)
(iii) ‘ग’ – मध्यम (७०% वा सो भन्दा बढी र ८०% भन्दा कम अङ्क प्राप्त गरेको)
(iv) ‘घ’ – सामान्य (६०% वा सो भन्दा बढी र ७०% भन्दा कम अङ्क प्राप्त गरेको)










