
सीपमूलक तालिम पाठ्यक्रम विकासका लागि NAVT र TITI बीच सम्झौता
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यवसायिकप्रशिक्षण प्रतिष्ठान National Academy of Vocational Training-NAVT र प्राविधिक प्रशिक्षण प्रतिष्ठान Training Institute for Technical Instruction - TITI बीच सीपमूलक तालिमकाे पाठ्यक्रम विकाससम्बन्धी सहजकर्ताहरूको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने विषयमा औपचारिक सम्झौता सम्पन्न भएको छ।
आज पौष ११ गते TITI मा भएको सम्झौतामा NAVT का कार्यकारी निर्देशक रमेश कुमार बखती र TITI का कार्यकारी निर्देशक अनुज भट्टराईले हस्ताक्षर गर्नुभएको थियो ।
उक्त प्रशिक्षण कार्यक्रम स्विस सरकारको आर्थिक सहयोगमा सञ्चालन भइरहेको SaMi Programme को प्राविधिक सहयोगमा कार्यान्वयन हुनेछ, जसलाई Helvetas Nepal ले सञ्चालन गरिरहेको छ।
सम्झौताअनुसार प्रशिक्षण सफलतापूर्वक सम्पन्न भएपछि राष्ट्रिय व्यवसायिक तालिम प्रतिष्ठानले आर्थिक वर्ष २०८२/०८३ भित्र विभिन्न पेशागत क्षेत्रमा १५ वटा सीपमूलक तालिम पाठ्यक्रम विकास गर्ने योजना बनाएको छ।
ती पाठ्यक्रमहरू राष्ट्रिय पेशागत दक्षता मापदण्ड (National Occupational Competency Standards) अनुरूप तयार गरिने र श्रम बजारको वास्तविक आवश्यकतामा आधारित हुने जनाइएको छ।
यस पहलले दक्ष जनशक्तिको क्षमता अभिवृद्धि गर्नुका साथै रोजगारी प्रवर्द्धन र उद्योगको आवश्यकता अनुसारको सीप विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
TVET क्षेत्रको सुदृढीकरण तथा सीप–रोजगार–उद्योगबीचको समन्वय मजबुत बनाउने दिशामा यो कदमलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।









